संवाददाता
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार प्रदेश बारेको नकारात्मक धारणा चिर्ने र प्रदेशको नामको बारेमा केन्द्रीत भएको बताएका छन् । बिभिन्न नाममा प्रदेश गलत हो, प्रदेशको काम छैन भन्ने खालको अभिब्यक्तिलाई चिर्ने गरि प्रदेश सरकारले नागरिकलाई आभास दिलाउने गरि काम गर्ने बताए । अहिले आफु मुख्यमन्त्री भएर आएको संरचना सबैले गाली गर्ने तर नभई पनि नहुने खालको भएकोले गाली गर्ने खाल प्र्रबृतिलाई चिर्न सबै लाग्नु पर्ने बताए । विराटनगरमा राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार एलाईन्स)को प्रथम प्रदेश अधिवेशन तथा मानवअधिकारकर्मी र सामाजिक अभियान्ताहरुको सम्मेलन–२०७९ को उद्घाटनको क्रममा उनले सबैको साथ र सहयोगले प्रदेशलाई बलियो बनाउन तर्फ लाग्न आग्रह गरे । सबैको साथ र सहयोगले प्रदेश बलियो बनाउन सकिने उनको भनाई छ । ‘प्रदेश संरचनालाई स्थापित गर्ने दायित्व हामीसबैमा रहेको छ, उनले भने, संरचनाको सम्वन्धमा उठेका विभिन्न आलोचनालाई चिर्न र यसलाई स्थापित गराउनका लागि पहिलो प्रयासको रुपमा मन्त्रालयको संख्या १३ बाट घटाएर ९ मा झार्ने काम प्रदेश १ बाट शुरु भएको छ।’
मुख्यमन्त्री कार्कीले प्रदेशको नामाकरणलाई उच्च प्राथमिकतामा राखेको र अनुकुल समयमा सर्व सहमती वा विधि प्रक्रिया पुरा गरेर राख्ने हुनाले नाम बारेमा सल्लाह सुझाव सहित सहयोग गर्न आग्रह गरे । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको क्षेत्रअधिकार भित्र रहि मानवअधिकारको संरक्षण गर्ने कार्यमा सकारात्मक रहेको बताए ।
सोही अवसरमा मानवअधिकार क्षेत्रमा कार्य गर्ने जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । अधिवेशनमा प्रदेशका १४ जिल्लाका अधिकारकर्मी, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । अधिवेशनले मानवअधिकार एलाईन्स प्रदेश १ को अध्यक्षमा सरिता खनाल निर्वाचित भएकी छिन् । खनालको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा खगेन्द्र पोखरेल, सचिवमा कविता बास्तोला, सहसचिवमा श्री रामसिंह राई, सदस्यहरुमा सविता पोखरेल, सुशिला कार्की, दीपक दास, मनप्रसाद नाल्बो, गणेश तिमल्सिना, हेमकुमारी पोखरेल, सुर्यप्रसाद अधिकारी र सुदीप लोहार रहेका छन् ।