संवाददाता
विराटनगर । झोराहाट नाट्य समूहले हरेक महिनाको दोस्रो शनिबार आयोजना गर्ने साहित्यिक शृंखलामा चारजना स्रष्टा प्रस्तुत भएका छन् ।
साउन महिनाको शृंखलामा चारजना कवि तथा गजलकार प्रस्तुत भएका हुन् । समूहको सभाहलमा शनिबार आयोजित कार्यक्रममा कवि एवं गजलकार हरि कट्टेल, लीलानाथ सिलवाल, युवराज ठकुरी अज्ञानी र रोमा लम्साल प्रस्तुत भए । उनीहरूले कविता र गजल प्रस्तुत वाचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मकालु साहित्य समाज संखुवासभाका अध्यक्ष साहित्यकार ताराबहादुर बुढाथोकीले चारैजना कविलाई सम्मान सहित मायाको चिनो प्रदान गरे । सो अवसरमा बोल्दै अध्यक्ष बुढाथोकीले झोराहाट नाट्य समूहले सरकारबाट सहयोग प्राप्त काठमाडौंका सांस्कृतिक संस्थालगायतलाई समेत चुनौती दिएको बताए ।
काठमाडौंभन्दा बाहिर पनि आफ्नै बलबुताले संस्थामार्फत स्तरीय कार्यक्रम गर्न सकिन्छ भन्ने उदाहरण झोराहाटले पेश गरेको उनले बताए । झोेराहाट साहित्य र कलाकारिताको एउटा महत्वपूर्ण संस्था बनेकोमा प्रशंसा गरे ।
झोराहाट नाट्य समूहले पूर्वसहित विभिन्न क्षेत्रका कविहरूलाई मञ्च उपलब्ध गराउँदै आएको अध्यक्ष भरत गुरागाईं बर्बरिकले जानकारी दिए । समूहले साहित्यसँगै नाट्य क्षेत्रमा समेत काम गर्दै आएको छ । मासिक साहित्यिक शृंखलासहित बेला–बेला नाटक मञ्चन र नाट्य लेखन र अभिनयको प्रशिक्षणसमेत सञ्चालन गर्दै आएको समूहका सचिव छत्र काफ्लेले बताए । समूहलाई भानु जयन्तीका अवसरमा नेपाल सरकारले १ लाख राशिको गोपालप्रसाद रिमाल राष्ट्रिय कलाकारिता पुस्कार प्रदान गरेको थियो । शनिबार आयोजित कार्यक्रममा सिर्जना सुन्नका लागि पूर्वका विभिन्न जिल्लाबाट साहित्यानुरागीहरूको बाक्लो उपस्थिति रहेको थियो ।