संवाददाता
विराटनगर । कोसी अस्पतालमा डाक्टर नभेटिने विषय लामो समयदेखि उठ्दै आएको छ । लामो समयदेखिको समस्याको रूपमा डाक्टर समयमा नबस्ने बारेमा समस्या समाधान गर्न अस्पताल प्रशासन कडा रूपमा प्रस्तुत भएको छ । समयमा चिकित्सक नभेटिएपछि कोसी अस्पतालले कारबाहीको लागि जिल्ला प्रशासनलाई पत्र समेत काटेको छ । निर्धारित समयमा अस्पताल मै रहेर काम गर्नुपर्नेमा बिरामीलाई छाडेर चिकित्सक अन्यत्र निजी क्लिनिकमा गएर उपचारलाई अस्तव्यस्त बनाउन थालेको गुनासोका आधारमा अस्पताल प्रशासनले कारबाहीको लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको हो ।
नागरिकका गुनासाका आधारमा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले त्यस्ता डाक्टरलाई कारबाहीको लागि जिल्ला प्रशासन कार्यालयलाई लिखित रूपमा आग्रह गरेका छन् । सरकारी अस्पतालमा उपचार सेवा प्रभावकारी बनाउनका लागि पछिल्लो समय अस्पताल प्रशासन सक्रिय भएर लागेको छ । जिल्ला प्रशासन कार्यालय मोरङलाई कारबाहीको पत्र लेख्दै निजी क्लिनिकमा फेला परे कारबाही गर्न भनेका छन् । कोसी अस्पतालको नाम बोर्डमा अनधिकृत रूपमा राखेर अस्पतालबाहिर निजी क्लिनिक सञ्चालनदेखि उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाहीको लागि अनुरोध गरिएको छ, अस्पताल प्रशासनले भनेको छ ।
नागरिकको सेवामा लाग्नु पर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी निजी क्लिनिकमा काम गर्ने क्रमलाई रोक्नको लागि उनीहरूलाई कानुनी दायरामा ल्याउन आग्रह गरिएको अस्पताल प्रशासनले जनाएको छ । यस बारेको पत्रको बोधार्थ जिल्ला प्रहरी कार्यालय मोरङलाई पनि दिइएको छ ।
सर्वसाधारणको उपचारमा अत्यधिक भिडभाड हुने अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी कार्यालय समयमा समेत बाहिर भेटिन थालेको जनकुगानाका आधारमा अस्पताल प्रशासनले कारबाही प्रक्रियालाई अघि बढाएको हो । डा. खरेलले दलहरूको बिचमा भएको संवादको क्रममा अस्पताल सुधारको लागि आफू जस्तोसुकै हालतमा तयार रहेको बताएका थिए । उनले अस्पतालको सुधारका लागि धेरै काम गर्न बाँकी रहेकोले ती विषयमा निरन्तर काम हुँदै जाने बताए ।